डडेल्धुरा - जिल्ला सुरक्षा समिति डडेल्धुराले दशैं तिहार जस्ता चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ ।
हिन्दूहरुका ठुला चाडपर्व दशैं, तिहार र छठ नजिकिएसँगै डडेल्धुरामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाउँदै लागू गरिएको हो।
‘चाडपर्वमा अप्रिय घटना हुन नदिन तीन वटै सुरक्षा निकायको समन्वयमा एकीकृत रुपमा सुरक्षा योजना बनाएर लागू गरिएको छ,’ सिडिओ जोशीले भने, ‘यो अवधिमा जिल्लाका सबै क्षेत्रमा सुरक्षाकर्मीको उपस्थित र निगरानी बढाउन सुरु गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै जिल्ला सदरमुकाम बागबजारको बसपार्क, स्याउले र भित्रिमधेशस्थित जोगबुडाको लालढुङ्गमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ।
चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको उनले बताए। ‘चाडपर्वको समयमा यात्रुमाथि हैरानी हुने गरेको जनगुनासो आउने गरेको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘गुनासो सम्बोधनका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ।’
यस्तै, दसैंको समयमा जिल्लाभरी रहेका प्रहरी इकाइलाई सक्रिय बनाइएको तथा बजार, मेला लाग्ने स्थलमा प्रहरी उपस्थिति बढाएर जुवा, तास, अबैध मदिरा विक्री वितरणमा रोक लगाउने गरी सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
चाडपर्वको समय सुरु भएसंगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। ‘यात्रुहरूको समस्या समाधानका लागि सहायता कक्ष स्थापना भइसकेका छन्,’ उनले भने, ‘अन्य सार्वजनिक स्थानमा पनि प्रहरीको सक्रियता बढाएका छौं। चेकजाँचमा पनि कडाई गरिएको छ।’
चाडपर्व नजिकिएसँगै अवाञ्छित तत्वहरुद्धारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकोले पूर्व तयारीका साथै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभरी नै विशेष सुरक्षा योजना लागू गरिएको डिएसपी भट्टले बताए। दसैं सुरु भएसंगै रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति घर फर्कन थालेका छन्।