बैतडी - बाल विकास सहजकर्ताले बैतडीको दशरथचन्द नगरपालिकाले तलब नदिएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरेका छन्।
बाल विकास सहजकर्ता लीला ठगुन्नाले तलबको माग राख्दै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको जानकारी दिइन्। उनका अनुसार सङ्घीय सरकार र स्थानीय सरकारले बाल विकास सहजकर्तालाई मासिक तलब दिँदै आएका छन्। दशरथचन्द नगरपालिकाले छ महिनादेखि तलब दिएको छैन।
नगरपालिका आफैँले तोकेको तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि सुनुवाइ भएन। गुनासो नसुनेपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको ठगुन्नाले बताइन्।
दशरथचन्द नगरपालिकाले बाल विकास सहजकर्तालाई मासिक सात हजार तलब दिने निर्णय गत वर्ष गरेको थियो। दशरथचन्द नगरपालिकामा ७१ जना बाल विकास सहजकर्ता छन्। शुक्रबार तालाबन्दी गरेपछि बाल विकास सहजकर्तालाई शनिबार वार्तामा बोलाएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताए।
उनले भने , “बाल विकास सहजकर्तालाई सङ्घीय सरकारले मासिक १० हजार र दशरथचन्द नगरपालिकाले मासिक सात हजार दिने निर्णय गरेको थियो। निर्णयअनुसार छ महिनासम्म नगरपालिकाले मासिक सात हजारका दरले तलब दिए पनि हाल स्रोत अभावमा पाँच हजार मात्रै दिन सकिने विषयमा छलफल भइरहेको छ।”
दशरथचन्द नगरपालिका आफैँले गरेको निर्णयविपरीत बाल विकास सहजकर्ताको तलब घटाएर आइतबार नगर प्रमुखको कार्यकक्षमा समेत तालाबन्दी हुने बाल विकास सहजकर्ता सङ्घर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्।
उनले भनिन् “नगरपालिकाले विद्यालयका अन्य कर्मचारीको माग पूरा गरे पनि बाल विकास सहजकर्ताको छ महिनासम्म तलब नदिने, तलब माग गर्न जाँदा दुई हजार घटाएर दिन्छौँ भन्ने जस्ता गैरजिम्मेवारी अभिव्यक्ति आउने गरेका छन्। यस्तो अवस्थामा बाल विकास सहजकर्ताले बाध्य भएर आन्दोलन गर्नुपरेको हो।”