काठमान्डौं- पछिल्लो समयमा देशभर डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो ।
२०७९ साउनदेखि हालसम्म २२ हजार ९ सय ८८ जना डेंगुको संक्रमण भएको छ । जसअन्तर्गत् प्रदेश १ मा ५ सय ९१, मधेश प्रदेशमा ३ सय २३, बागमती प्रदेशमा १७ हजार ७ सय ३१, गण्डकी प्रदेशमा ५ सय १५, लुम्बिनी प्रदेशमा २८ सय २१, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगु रोकथामका लागि ’लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको बताएको छ । नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो ।
डेंगु भाइरस ’एडिस’ जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताएका छन् । डेंगुलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ ।
डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ । डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ । डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ ।
सफा र स्थिर पानीमा वासस्थान हुन्छ । अन्य लामखुट्टे फोहरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टससवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ ।