कञ्चनपुर - कञ्चनपुरमा दोस्रो प्रदेश स्तरिय शुक्लाफाँटा पर्यटन महोत्सव २०७५ सुरु भएको छ । समृद्धिका लागि पर्यटन भन्ने मुल नाराका साथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवारदेखी सुरु भएको महोत्सबको कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै साँसद भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि आगामी वर्षदेखि महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए । उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पर्यटन महोत्सवलाई आगामी वर्षदेखि निरन्तरता दिन आफुले पनि सक्दो पहल गर्न उद्घोष गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि रहनुभएको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले महोत्सवका माध्यामले शुक्लाफाँटामा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले देश तथा बिदेशका पर्यटकहरुलाई भित्राउन यस्ता मेला महोत्सबहरुले महोत्बपुर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै मूल आयोजक समितिका संयोजक एबम् कार्यक्रमका सभापति भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धन र नेपाल भ्रंमण वर्ष २०२० लाई मध्यनजर गरी महोत्सवको आयोजना गरिएको बताए । शुक्लाफाँटा पर्यटन महोत्सव सबै स्थानीय तह र सरोकारवाला निकायको संयुक्त आयोजना गरिएको बताउदै उनले महोत्सवले शुक्लाफाँटा निकुञ्जको अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बिश्वास लिएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सबैको साझा सम्पत्ती भएको उल्लेख गर्दै गर प्रमुख विष्टले शुक्लाफाँटाबाट समृद्धि ल्याउन भीमदत्त नगरपालिका सबैसंग सहकार्य र समन्वय गर्न तयार भएको बताए । भीमदत्त नगरपालिकाले संयोजन गरेको महोत्सवमा कञ्चनपुरका सबै स्थानीय तह, नाटा, कञ्चनपुर उद्योग बाणिज्य संघ, कञ्चनपुर होटल व्यवसायी संघ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकाय आयोजक छन् । चैत २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक पर्यटकलाई निकुञ्जभित्र घुमाउने कार्यक्रम छ ।