कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनीमा अधिकांश अवैध मेडिकल सञ्चालनमा आएको पाइएको छ । कञ्चनपुरको चाँदनी नगरपालिकाले यसै साता अनुगमन गर्दा अधिकांश मेडिकलमा दर्ताबिना नै संञ्चालनमा रहिआएका पाइएको हो ।
अनुगमनको क्रममा नगर प्रमुख किशोरकुमार लिम्बू उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा अवैध रूपमा खुलेका मेडिकल सञ्चालकहरुको भागाभाग चलेको हो । ‘अनुगमनमा जाँदा अधिकांश मेडिकल बन्द भेटिएका थिए, ।
दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार, ‘सबै मेडिकलहरु भारतीय नागरिकले सञ्चालन गरेका हुन्, । ती कतै दर्ता पनि छैनन्’ उनले भने खुला रहेका मेडिकलहरू पनि प्रक्रियाबिना नै सञ्चालनमा छन् । न त दर्ता प्रमाणपत्र छ, न शैक्षिक प्रमाणपत्र नै । यस्ता मेडिकललाई एक हप्ताको समयावधि दिएर सचेत पारिएको उनले बताए ।
‘बुबा नआए छोरा आउने, दाइ नआए भाइ आउने यसरी नै मेडिकल संञ्चालन भइरहेको पाईएको हो । ‘उनीहरूले बिरामी जाँच गर्नेदेखि आवश्यकताभन्दा बढी पावरका औषधि दिने गरेको पाइयो ।’ एक सातापछि पुनः अनुगमन गरेर कारबाही प्रक्रियामा जाने उनले बताए ।
बन्द रहेका मेडिकल पनि अर्को पटक फेरि बन्द भेटिए ताला तोडिने उनले बताए । अनुगमनका क्रममा नगरपालिकाका सबै वडामा अवैध मेडिकल भेटिएका छन् । सबै वडामा गरी २१ मेडिकल भेटिएका छन् । अधिकांश मेडिकल भारतीय बंगालीले सञ्चालन गरेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतका अनुसार सीएमए गरेकाहरू आफूलाई डाक्टर भन्दै बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैध रूपमा गर्भपतनसम्म गराउने । मेडिकलमा बंगाली डाक्टरको बिगबिगी छ । ‘अब छिट्टै एक्सनसहितको अनुगमन गर्ने तयारीमा छौं,’ ।
उनले भने, ‘स्पटमै कारबाही गरेर जान्छौं, नेपालीले सञ्चालन गरेका मेडिकललाई पनि दर्ता गरेर मात्रै चलाउन दिइनेछ ।’
त्यस्तै स्वास्थ्य शाखा प्रमुख महराले अनुगमनका क्रममा खुला रहेका मेडिकलमा पनि म्याद नाघेका तथा बिक्री गर्न नहुने औषधि राखिएको भेटिएकोे, बढी पावर र स्टेराइड औषधिहरू राखिएको भेटिएकाले उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।