काठमाडौं - देशभरि डेंगु अहिले महामारी बढ्दै गएको संकेत देखिएको छ । डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको ज्यान गइसकेको छ । हालसम्म डेंगुबाट मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेले बताए ।
नेपालमा २०७६ सालमा पनि डेंगु तीव्र गतिमा फैलिएको थियो । त्यतिखेर काठमाडौं उपत्यकासहित देशभरि गरेर १९ हजारलाई डेंगु देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो । तर यसपटक डेंगुका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेले बताए ।
यसपटक डेंगुका बिरामीलाई कडा लक्षण देखिएको पाइएको समेत उनको भनाइ छ । ‘डेंगु संक्रमण गराउने लामखुट्टे एक महिनासम्म बाँच्न सक्ने हुँदा त्यो खालको लामखुट्टे नष्ट नहुँदाको एक महिनासम्म मानिसलाई टोकेर डेंगु फैलने हुँदा सतर्क रहनु पर्छ’‚ प्याकुरेलले भने ।
एडिस एजिप्टी प्रजातिको लामखुट्टेले टोकेपछि मानिसलाई २ दिनसम्म सामान्य टाउको दुख्ने, २÷३ दिनपछि लगातार १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ । ढाडका जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक र गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिने उनको भनाइ छ ।
घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउन चिकित्सकले सुझाव दिएका छन् ।