धनगढी - कैलाली कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका ८ जना कैदी कैदमुक्त भएका छन् ।
हत्या अभियोगमा २० वर्ष जेल सजाय भएका स्थायी घर पर्वत भएर धनगढीको फूलबारीमा बस्दै आएका रामबहादुर खत्री, डोटीको पूर्वीचौकी गाउँपालिका १ का नृप साउँद, बाँकेको नैनारापुरका केशव जाखा र कैलालीको जोशीपुर गाउँपालिका ४ का विशाल चौधरी बाँकी कैद मिनाह भएपछि छुटेको जिल्ला कारागार कैलालीका प्रमुख नरबहादुर थापा जानकारी दिए । उनीहरु ४ जनाले ९ वर्ष कैद सजाय भोगिसकेका थिए ।
जेलर थापाकाअनुसार ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैलालीको जानकी गाउँपालिका १ का धनबहादुर शाही, गौरीगंगा नगरपालिका८ का त्रिभुवन चन्द, सवारी ज्यान उद्योगका सुवास थापा र चुरे गाउँपालिका ३ का दिपक अधिकारी पनि कैद सजाय मिनाह भइ छुटेका छन् ।
उनीहरु मध्ये ज्यान मार्ने उद्योगका चन्द र शाहीले ५/५ वर्ष कैद सजाय भएकोमा ४० प्रतिशत भुक्तान गरिसकेका थिए भने सवारी ज्यानका थापा र अधिकारीलाई ३/ ३ वर्ष कैद सजाय भएकोमा उनीहरुले पनि आधा कैद मिनाह गरिएको छ ।
८ औं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाली कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका ८ जना कैदीको कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हत्या अभियोग(कर्तव्य ज्यान मुद्दा) मा कैद सजाय पाएका ४ सहित ८ जना कैदीको बाँकी कैद मिनाह गरेकी हुन् ।
संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको छ ।