काठमाडौं - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाउँदैछन् ।
आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) लगायतका दलहरुले सोमबार निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ ।
निर्वाचन आयोगले बन्दसूची बुझाउन आइतबार र सोमबारको कार्यतालिका बनाएकोमा पहिलो दिन आइतबार साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि आइतबार सूची बुझाउन सकेनन् । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन ।
आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।
निर्वाचन आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ । १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका रहेको छ ।
आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।