काठमाडौं - आइतबार जितिया पर्वको मुख्य दिन । मध्यतराईका मधेशी र थारू महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत् सुरुवात भने शनिबारदेखि भइसकेको छ ।
बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ।
जितिया पर्वको मुख्य दिन आइतबार निराहार व्रत बसेर सोमबार विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् ।
आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ ।यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् । उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्याएको बताएका छन् ।
साथै उनले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। ‘यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्व पूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस्’, उनको सन्देशमा उल्लेख छ।