पोखरा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।
‘माधव नेपाललाई के देखेर, किन, कुन कामका लागि भोट दिने?,’ उनले भने, ‘एमालेको सरकार हटाएर काम नलाग्ने भ्रष्ट सरकार बनाइपाम भनेर अदालत गएर परमादेश मागेकाले?’ थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए । माधव नेपालपछि प्रचण्डप्रति पनि ओलीले उस्तै आक्रामक गरे।
जनयुद्धका नाममा हजारौं मानिसलाई अंगभंग, अपांग र हत्या गरेको आरोप लगाउँदै उनले प्रचण्ड राष्ट्रिय समस्या रहेको दोहोर्याए।
‘प्रचण्ड भनेको राष्ट्रिय समस्या हो भनेर २०५६ सालमै भनेको थिएँ, अहिले पनि समस्या हो,’ उनले भने, ‘यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन।’