डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले सय दिनमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका छन् ।
मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी सम्हालेको सय दिनमा २५ कामको सूची सार्वजनिक गरेका हुन् ।नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ६ वटा महत्वपूर्ण काम भएको जनाएको छ । यस्तै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवादेखि जोगबुडा अस्पतालमा भौतिक संरचना निर्माणसम्मका काम सुचारु गरिएको मेयर जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सय दिनमा सघन शहरी कार्यक्रम अन्तर्गत परशुराम नगरपालिकामा व्यवस्थित बसपार्क, सडक कालोपत्रे, सदरमुकामको बजार क्षेत्रमा ढल निकासको काम भएको नगरपालिकाले जनाएको छ । परशुराम नगरपालिकाको विकासका लागि प्रधानमन्त्री र मन्त्रीसँग नियमित संवाद भइरहेको विषयलाई पनि जोशीले उपलब्धिका रुपमा राखेका छन् ।
यसबाहेक नगरपालिका भित्र शिक्षाको गुणस्तरमा सुधारका लागि पहल, नगरपालिकाका सबै माध्यमिक विद्यालयहरूमा ई–हाजिरी, सबै आधारभूत विद्यालयमा इन्टरनेट जडानको सुरुवात, सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विकासका लागि ४७ बुँदे करार सम्झौता, परशुराम नगरपालिकामा नापी र मालपोत कार्यालयको स्थापना, योग केन्द्र स्थापनाका लागि सहरी विकास कोषसँग सम्झौता, सौर्य बत्तीहरूको मर्मत सम्भार भएको उनको प्रगति विवरणमा उल्लेख छ ।
महाकाली करिडोर अन्तर्गत कराली देखि कुडा सम्मको सडक कालोपत्रेका लागि टेन्डर आह्वान, वडा नम्बर १, २, ३, ५ र १२ मा टेलिफोन टावर स्थापनाका लागि पहल, ‘इनोभेसन सेन्टर’ स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरिएको मेयर जोशीको सय दिनको काममा उल्लेख छ ।