कैलाली- कैलालीमा समुदाय स्तरमै डेङ्गुको संक्रमण फैलिन थालेको छ । कैलालीको पूर्वी क्षेत्रमा डेंगुको संक्रमण उच्च रहँदा मृत्युदर भने धनगढी क्षेत्रमा बढ्न थालेको हो ।
नागरिक रोगप्रति संवेदनशील नहुँदासम्म यो समस्या बढ्न सक्ने देखिएको स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले डेंगुकै कारण कैलालीमा दुई सातायता दुईजनाको मृत्यु भइसकेको बताए । डेंगुको जोखिम क्षेत्र विरामीको दर हेर्दा लम्कीमा बढी रहेको भए पनि मृत्युको दर धनगढी र टीकापुरमा बढ्न थालेको उनले बताए । तर अहिलै नै जोखिम क्षेत्र यो हो भन्नेबारेमा भने अझै स्पष्ट नभएको उनले बताए । ‘जोखिम क्षेत्र यकिन गर्न सकिएको छैन,’ धामीले भने, ‘स्थानीय तहसँगको समन्वयमा अहिले सवै पालिकाको जोखिमलाई अध्ययन भइरहेको छ ।
’१० हजार जनामा डेंगु संक्रमण हुँदा एक सयजना जति मात्रै गम्भीर बिरामी पर्ने गरेको भन्दै उनले अहिले गम्भीर बिरामी भेटिएका स्थानलाई मात्रै जोखिम क्षेत्र हो भनेर भन्न नमिल्ने बताए । धामीले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरूले सचेतनामूलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।
स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार लम्की चुहा नगरपालिकामा ६६ जना डेंगुका विरामी फेला परेका छन् । यसैगरी घोडाघोडी नगरपालिकामा २ र बर्दगोरिया गाउँपालिकामा ३ गरी ७१ जना डेंगुका बिरामी फेला परेको कार्यालयको तथ्यांकमा रहेको छ ।
डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धूप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल(ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।
एक्कासि उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेशी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिँगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ । यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भीर लक्षण हुन् ।