दार्चुला- बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका– ४ बंगाबगडमा आइतबार बिहानै पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्थानिय संगै नदीको कटान रोक्न ढुंगा बाेक्न उपस्थित भए।
जिल्लास्तरीय नेतादेखि जिल्लाबाट प्रदेश र संघीय मन्त्रीसम्म सो कार्यमा सहभागी भए । शनिबार राति परेको पानीले बंगाबगड क्षेत्र कटान गर्न थालेपछि बस्ती जोगाउन स्थानीयसँगै उनिहरु यँहा पुगेका हुन ।
शनिबार नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका बडूले लास्कु खोलामा ढुंगा बोकेर साथ दिए।
सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगर प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय युवा र विद्यार्थीहरूले बिहानैदेखि तारजाली लगाएर खोलालाई आफ्नै बाटोमा फर्काउने प्रयास गरिरहेका छन्।
बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुंगा र जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उद्योगमन्त्री बडूले बताए। उनले भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ। बजार क्षति भयो भने फेरि दर्जनौँ घर, पसलहरूमा क्षति हुने देखिन्छ।’ यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न बडूले आग्रह गरे।
शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका १० जना भने अझै भेटिएका छैनन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ भने दशजना बेपत्ता छन्।