अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा वर्गिकरण सहितको परिचय पत्र वितरण सुरु गरिएको छ । शनिबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिका ३ का २६ जना किसानलाई वर्गिकरण सहितको परिचय पत्र वितरण सुरु गरेको हो ।
परिचय वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले परिचय पत्र वितरण गरे । किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण गरिने छ ।
कार्यक्रममा नगरप्रमुख भट्टले बर्गिकरण सहितको परिचय पत्रले नगरपालिकाबाट उपलब्ध गराइने सेवा सुविधालाई पहिचान पत्रको आधारमा व्यवस्थित तरिकाले अगाडि बढाउन सहज हुने बताए ।
उनले आफूहरुले चुनावको बेलामा बोलेका कुरा पुरा गर्ने क्रममा बिभिन्न संघसस्थाहरुको सहकार्यमा परिचयपत्र वितरण गर्न लागिएको बताए ।
वडा नम्बर ३ मा १ हजार ४ सय ४३ जनालाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरिने छ । नगर प्रमुख भट्टले बर्गिकरणका आधारमा परिचय पत्र वितरण गरिएपछि नगरपालिकाबाट कृषिका कार्यक्रम संचालन गर्न सहज हुने बताए ।
कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले धेरै प्रयास गर्दा पनि किसानहरुका समस्य ज्यूँ का त्युँ रहेपछि बर्गिकरण सहितको परिचय पत्र वितरणको योजना अघि सारिएको बताए ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो, साना किसानलाई सेतो, मध्यम किसानलाई पहेलो र ठूला किसानलाई निलो परिचय पत्र वितरण गरिएको बताए । उनले रातो परिचय पत्र पाउने किसानको लागि भूमिको स्वामित्व नभएको वा ०.१ हेक्टर भन्दा कम जमिन भएको वा खेती गर्ने वा कृषि मजदुरको रुपमा काम गर्ने गरी जिविकोपार्जन गर्ने र वार्षिक अधिकतम १ लाख सम्म कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको बताए ।
सेतो परिचय पत्र पाउने किसानको लागि चार जनाको परिवारलाई जीविकोपार्जन गर्नुपग्ने कृषि व्यवसाय वा ०.५ हेक्टर सम्म खेती योग्य जमिन भएको र १ लाख देखि ५ लाख सम्म कृषि आम्दानी भएको मापदण्ड तोकिएको छ । पहेलो परिचय पत्र पाउने किसानको लागि चार जना भन्दा बढिको परिवारलाई जीविकोपार्जन गरी थप आम्दानी गर्ने, तोकिएको मापदण्ड बमोजिमको व्यवसाय वा ०.५ देखि २ हेक्टर सम्म कृषि योग्य भूमि रहेका वा खेती गर्ने र ५ देखि १५ लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्नेै मापदण्ड तोकिएको छ ।
त्यस्तै निलो परिचय पत्र पाउने किसानका लागि २ हेक्टर भन्दा माथि कानुन बमोजिम कृषि भूमि वा खेती गर्ने र बार्षिक १५ देखि ५० लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।बर्गिकरणका आधारमा रातो, सेतो, पहेलो र निलो परिचय पत्र भएका किसानहरुलाई क्रमश १०० प्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत अनुदान दिने मापदण्ड छ ।