अत्तरिया – कैलालीको गोदावरी नगरपालिका २ मा रहेको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महान चाड दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया र गोदावरी नगरपालिकाको सयुक्त पहलमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रु सहायता कक्षको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले यात्रु सहायता कक्षले यात्रुहरुको सुरक्षामा महत्तपूर्ण भुमिका खेल्ने बताए । उनले अत्तरिया बसपार्क लाई प्रदेशकै नमुना बसपार्क बनाउन नगरपालिका लागिरहेको बताए । बसपार्कको जग्गाको भोगाधिकार नगरपालिका संग अझै पनि नआईसकेकाले व्यवस्थीत गर्न अझै केहि समय लाग्ने नगरप्रमुख साउँदले बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले यात्रु सहायता कक्षमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट दुईजना जनपथ प्रहरी र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया बाट एक जना ट्राफिक प्रहरी रहने बताए ।
उनले चाडपर्वमा बढी भिडभाड हुने भएकाले बसपार्कमा बिभिन्न समस्या आउन सक्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रु सहायता कक्षमा खटिएका प्रहरीले यात्रुहरुलाई सहायता गर्ने, यात्रुका समस्या बुझ्ने सामान्य समस्या तत्काल सामाधान गर्ने र ठुलो समस्या भए अगाडी प्रक्रिया बढाउन सहयोग गर्नेछन ।’ डिएसपी बिष्टले भने –‘यात्रु सहातया कक्षमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापना भुमिका खेल्ने छन् ।’ उनले बसपार्कमा धेरैजसो सामान चोरी हुने, बसमा यात्रुहरु ठगीने घटना आउँने भएकाले त्यस्ता घटना नियन्त्रणमा हेल्प डेस्कले सहयोग गर्ने बताए ।
यस्तै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी निरिक्षक मोहन साउँदले बसपार्क क्षेत्रमा पार्कीङ व्यवस्थापनमा हेल्प डेस्कमा रहेका ट्राफिक प्रहरीले काम गर्ने बताए । उनले अहिले बसपार्क बाहिर रोडको छेउमा यात्रु चढाउने र यात्रु तान्ने गरिने भएकाले यस्को नियन्त्रणमा ट्राफिक प्रहरी परिचालन गरिने बताए ।
प्रहरी निरिक्षक साउँदले भने – ‘अहिले बसपार्क भित्र बस पार्किङ गर्ने र टिकट काउन्टर कता राख्ने भन्ने बिषयमा कार्यसमिति बनाएर काम अगाडी बढाईने छ ।’