दार्चुला - जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप भदौ २८ गतेदेखि दिइने भएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर-बायोएनटेकको दोस्रो मात्रा दिइन लागेको हो ।
यही भदौ ६ देखि १० गतेसम्म सञ्चालित खोप अभियानबाट पहिलो मात्रा लगाएका जिल्लाका १७ हजार ३३९ बालबालिकालाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । जिल्लाका नौ वटै स्थानीय तहमा भदौ २८ देखि असोज १ गते अभियान सञ्चालन गरेर खोप लगाइने उनले बताए ।
खोप ४ सय २९ खोप केन्द्रहरूबाट लगाइनेछ । फाइजर(बायोएनटेक खोप बालबालिकालाई २१ दिनको फरकमा दुई डोज पूरा गर्नुपर्दछ । भदौ ६ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका ९७ प्रतिशत ९१७८९३ जना० बालबालिकालाई खोप लगाइएको छ ।
जिल्लाको महाकाली नगरपालिकाका ३ हजार ६९४ जना, मालिकार्जुन गाउँपालिकाका १ हजार ७०१, अपि हिमालका ८२३, लेकम गाउँपालिकाका १३७३, शैल्यशिखर नगरपालिकाका २ हजार ९०६ बालबालिकालाई खोप लगाइने बताइएको छ ।
यस्तै नौगाड गाउँपालिकाका २ हजार २४९, मार्मा गाउँपालिकाका २ हजार ३५२, दुहुँ गाउँपालिकाका १ हजार १४१ र व्याँस गाउँपालिकाका १ हजार १०० बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच बिहीबार बसेको कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई बुस्टर डोजका लागि खोप माग गर्ने निर्णय गरेको छ ।