डोटी- डोटीको एक गाउँपालिकामा अस्पताल निर्माणका लागि सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि अस्पताल निर्माण कार्य सुरु गरिएको छैन । भवन निर्माणका लागि गत वर्ष नै सम्झौता भएको थियो ।
सम्झौता भएपछि केही पनि नभएको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज नन्द देउवाले बताए ।
जिल्लाको जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा १५ शय्याको अस्पताल निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुसार उक्त कार्य २०८० असार मसान्तमा सम्पन्न भइसक्नुपर्ने हो ।
गाउँपालिकाका अनुसार सम्झौता भएको एक वर्षसम्म भौतिक प्रगति जम्मा १ प्रतिशत मात्रै भएको बताएकोे छ । कम्पनीले कामै सुरु नगरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्टले बताए ।
१८ करोड छ लाख ८२ हजार रुपियाँको कुल लागत अनुमान रहेको उक्त भवनमा निर्माता कम्पनीले ११ करोड २१ लाख ५८ हजार ६ सय ३९ रुपियाँ अर्थात् लागत अनुमानको ६२ प्रतिशतमै काम सम्पन्न गर्ने कबोल गरेको थियो ।
निर्माता कम्पनीले काम सुरु गर्ने भन्दै गत वर्ष एक करोड ९६ लाख ८० हजार रुपियाँ पेस्की लिएपछि साइटमै नआएको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा निर्माण हुने भनिएको उक्त अस्पताल भवनका लागि गाउँपालिका र निर्माता कम्पनी राजेन्द्र निर्माण सेवाबीच २०७८ साउन १९ गते सम्झौता भएको थियो ।
उक्त कम्पनी नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको हो ।