काठमाडौं - सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए ।
आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।
दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको जनाइएको छ।
पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहिबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यसैगरी नेकपा(एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।