कञ्चनपुर- कञ्चनपुरमा सत्तारुढ काँग्रेसबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिस गरिएका छन् ।
काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिसमा लोग्ने स्वास्नी, दाजु भाइ र काका भतिजा उम्मेदवार सिफारिसमा भएका छन् । काँग्रेस कञ्चनपुरका पूर्वसभापति अन्तराम भट्ट र उनकी धर्मपत्नी तारादेवी भट्ट उम्मेदवार सिफारिस भएका छन् ।
पूर्वसभापति भट्ट प्रत्यक्ष र उनकी पत्नी महिलातर्फ समानुपातिकमा सिफारिश भएका छन् । तारादेवी भट्ट राष्ट्रियसभाका निवर्तमान सदस्य हुन । उनीहरु दुवैजना कञ्चनपुर क्षेत्र ३ बाट समानुपातिकमा सिफारिश भएका छन् ।
कञ्चनपुर क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागी नारायणप्रकाश साउद र उनका दाजु उदयप्रकाश साउद पनि उम्मेदवारका लागि सिफारिस भएका छन् । उदयप्रकाश साउद समानुपातिकमा सिफारिस भएका छन् । उनि महेन्द्रनगर माविका पूर्वप्रधानाध्यापक पन हुन् ।
उनी निर्वाचन क्षेत्र ३ क बाट समानुपातिकमा सिफारिस भएका छन् । काँग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री साउद २०५१ देखि कञ्चनपुरमा चुनाव लड्दै आएका छन् ।
साउद यस पटक पनि निर्वाचन क्षेत्र २ बाट चुनाव लड्न उम्मेदवारका लागि सिफारिस भएका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि बेदप्रकाश चौधरी निर्वाचन क्षेत्र २ बाट समानुपातिकमा सिफारिस भएका छन् ।
उनीसँगै सोही क्षेत्रबाट उनका काका रोशनलाल चौधरी पनि सिफारिस भएका छन् ।
सरकारी जागिरबाट अवकाश पाएपछि रोशनलाल काँग्रेस राजनीतिमा लागेका हुन् ।