कैलाली- सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा विपद जोखीमका हिसाबले भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । धनगढीमा मंगलबार अथार्त हिजो आयोजना भएको सुदूरपश्चिम प्रदेशको परिदृश्य भूकम्पमा आधारित प्रभाव आङ्कलन कार्यक्रममा सो जानकारी गराएको हो ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका, युरोपीयन युनियन, यूएनडीपी, युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा भुगर्भ तथा भुकम्पीय प्रकोप र हुनसक्ने प्रभाबबारे छलफल गरिएको हो ।
विभिन्न विपद् जोखीम र भूकम्पको जोखिमका हिसाबले सुदुरपश्चिम प्रदेश उच्च जोखीममा रहेको भुगर्भ विद डाक्टर दिपक चौलागाईले बताए ।
भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनले जानकारी दिए । उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो क्षति हुने बताए ।
चौलागाईका अनुसार बिगत १० बर्षको अवधीमा सुदुरपश्चिम प्रदेशमा २ हजार १ सय १९ विपदका घटना घटेका छन् ।
प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद् सम्बन्धी सचेतना मूलक कामहरू अगाडि बढाउन आवश्यकता रहेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले बताए ।
सुदूरपश्चिम विगत लामो समय देखि भूकम्प नगएको हुँदा शतर्कता अपनाउनु पर्नेमा भुगर्भ विद्ले जोड दिएका छन् ।