बझाङ - नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभूत तहका विद्यार्थीलाई खुवाइँदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका तीनवटा स्थानीय तहका ८० वटा विद्यालयमा दुई महिनादेखि दिवा खाजाबाट विद्यार्थी वञ्चित भएका छन्।
वर्षायाम लागेपछि बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका र साइपाल गाउँपालिकाका विद्यालयमा साउनदेखि दिवा खाजा ढुवानी हुन सकेको छैन।
विद्यार्थीको पोषणमा सुधार गर्नका लागि जिल्लाभरि विश्व खाद्य कार्यक्रमअन्तर्गत दिवा खाजा खुवाइँदै आएको थियो। वर्षायाम लागेसँगै तीनवटा स्थानीय तहमा सडक अवरुद्व भएपछि दिवा खाजासमेत ढुवानी हुन सकेको छैन। जिल्लाको कैलाश आधारभूत विद्यालय लटौनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर्ख बोहराले विद्यालयमा दुई महिनादेखि दिवा खाजा खान नपाएको बताए ।
सडकको विकल्पमा खच्चरद्वारा ढुवानी गराउनुपर्ने भए पनि विश्व खाद्य कार्यक्रमको लापरबाहीका कारण दुई महिनासम्म पनि विद्यार्थीले दिवा खाजा खान नपाएको उनले बताए । त्यस्तै खप्तडछान्ना गाउँपालिकाको भाग्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक वसन्तबहादुर थापाले गएको असारपछि विद्यार्थीलाई खाजाका लागि आउने चामल, दाल, तेल र नुन ढुवानी नभएको बताए ।
उनले भने , “साउन र भदौमा दिवा खाजाको सामग्री आएको छैन, हामीले त यो वर्ष कटौती भयो कि भनेर सोचेका थियौँ तर बुझ्दै जाँदा ढुवानीमा समस्या भएका कारण नआएको भन्ने सुनियो।” दैनिक प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नुन गरी ११२ ग्राम बराबर खाजा दिने व्यवस्था गरिएको छ।
विश्व खाद्य कार्यक्रमले ठेकेदार कम्पनीमार्फत सबै पालिकामा खाजा ढुवानीको जिम्मा दिँदै आएको छ। ढुवानीको जिम्मा पाएको सत्यवादी कन्स्ट्रक्सन प्रालिका सुवासकुमार श्रेष्ठले आफूलाई गाडीमार्फत ढुवानी गर्ने भाडा मात्र दिएका कारण खच्चर ढुवानीको भाडा महँगो हुने भएका कारण ढुवानी गर्न नसकिएको बताए ।
उनले विश्व खाद्य कार्यक्रमको धनगढीमा रहेको गोदामबाट पालिकास्तरमा बनाइएका गोदामसम्म गाडीमार्फत मात्र ढुवानी गर्नेगरी सम्झौता गरेको बताउँदै खच्चड भाडा थप गरिए मात्र ढुवानी गरिदिने बताए ।
साइपाल गाउँपालिकामा रहेको धुली माविमा भने वैशाखयता खाजाको सामग्री पुगेको छैन। काँडा माविका प्रधानाध्यापक रमेश जेठाराले भन्नुभयो, “धुली क्षेत्रका दुईवटा विद्यालयलाई दिने भनेको खाजाको सामग्री साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडामा रहेको गोदाममा स्टक रहेको बताए ।