धनगढी – सामान्यतया ११ महिने बालकको दैनिकी आफन्तहरुको रेखदेखमा घरमा बस्ने, खेल्ने लगायतका क्रियाकलाप गरी बित्ने गर्दछ । तर कैलालीको धनगढी उप महानगरपालिका ७ बस्ने कृष्ण देवि चौधरीका ११ महिने छोरा आयोन चौधरीको दैनिकी भने फरक तरिकाले बितिरहेको छ । ११ महिने आयानको दैनिकी धनगढीका सडकमा डुलेर बित्ने गर्दछ ।
उनी न बोल्न सक्छन , न हिडडुल गर्न सक्छन तै पनि उनी दिनभरी धनगढी बजारमा डुल्नुको कारण हो उनकी आमाको अटोरिक्सा चलाउने व्यवसाय । ११ महिने बालकको दैनिकी दिनभरी आमा संगै अटोमा धनगढी बजारका गल्ली गल्ली डुलेर बित्ने गर्दछ ।
धनगढीमा अहिले धेरै सडक निर्माणाधिन छन । जताततै धुलै धुलो छ , झन कृष्ण देविको अटो धनगढी चौराहा देखि गौरीफन्टा नाका सम्म पुग्ने गर्दछ । जुन सडक अहिले निकै धुलाम्मे छ । तर ११ महिने बालक सधै त्यहि धुलोमा आमासंगै ओहोर दोहोर गर्नु पर्ने बाद्यता छ । ११ महिने ति बालक न गर्मि भयो भनेर बोल्न सक्छन , न नाक मुखमा धुलो गयो भने नाक मुख छोप्न सक्छन ।
आमा कृष्ण देविलाई पनि आफ्नो कलिलो बालक लाई धनगढीको चर्को गर्मि , धुलो धुवामा डुलाउने मन त छैन । तर घरमा खर्च चलाउने आयश्रोत नहुँदा उनी ११ महिने छोरो बोकेर आफ्नो अटो चलाउने व्यवसाय गर्न बाद्य छिन । घरमा उनका श्रीमान छन तर उनी कहिले काही ज्यालामजदुरी गर्ने तर कमाएको पैसा सबै जाडरक्सी खाएरै सक्ने गर्छन ।
कृष्ण देवि भन्छिन – ‘३ महिना देखि छोरा बोकेर अटो चलाउँदै छु , अहिले छोरो ११ महिना भयो । घरमा श्रीमान् दिनभरी रक्सी खाएर डुल्ने गर्दछन, छोरोलाई हेरीदेउ भन्दा नि मान्दैनन् ।’ उनले आफूलाई आफ्नै छोरो बोकेर काम गर्दा अपठ्यारो नलाग्ने भएपनि काम गर्न भने समस्या हुने बताईन ।
उनले अहिले मासिक १३ हजार ४ सय तिर्ने गरी किस्तामा अटो संचालन गरिरहेको र दैनीक १ हजार देखि १२ सय सम्म आम्दानी हुने गरेको बताईन । उनले अटो चलाउँदा छोरा नखसोस भनेर कपडाले आफ्नो छोरालाई आफ्नै घाटिमा बाध्ने गरेकी छिन ।

घरमा बसेर हेरचाह गरिनु पर्ने बालक यसरी सडकमा डुलाएर हुर्काउनु आमाको बाद्यता छ तर बालकाको स्वास्थ्यका दृष्टिकोणले भने निकै जोखिम रहेको छ । बालकले पाउनु पर्ने उचित हेरचाह , संरक्षण पनि पाईरहेका छैनन् ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद २ मा प्रत्येक बालबालिकालाई आफ्नो बाबु ,आमा , परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह , संरक्षण , पालन पोषण र माया प्राप्त गर्ने अधिकार हुनेछ भनेको भएपनि यी बालक भने सडकमा दयनिय अवस्थामा हुर्किरहेका छन ।
अटो चालकमा महिलाको संख्या बढ्दै
पछिल्लो समय धनगढीमा अटो चालक महिलाहरुको संख्या बढ्दै गएको छ । आयस्रोतको राम्रो माद्यय अटो व्यवसाय बने पनि घरको दैनिक काम संगै बालबच्चा पनि हुर्काउनु पर्ने महिलालाई भने समस्या हुने गरेको छ ।
अहिले धनगढीमा २ हजारको हराहारीमा अटो चल्ने गरेका छन भने त्यसमा ५० जना भन्दा बढी महिला चालक रहेका छन ।