अत्तरीया- नेपाली काँग्रेसले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा सुदूरपश्चिमका दुई जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छन् । नेपाली काँग्रेसले प्रदेशको डोटी र डडेल्धुरामा प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।
नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्का अनुसार बिहीबार जिल्ला कार्यसमिति डोटीको बैठकले जिल्लामा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको बताए । उनले भने, ‘‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, डोटीमा हामी एक्लै लड्छौँ । बैठकले उम्मेदवार बन्न आकाङ्क्षीहरू पनि सिफारिस गरेको छ । गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको जनाएको छ ।
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल दाबी गरिरहेका छन् । उनीहरूबिच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै वेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभातर्फ डोटीबाट वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, गोरख विष्ट र धीरेन्द्र शाहीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभातर्फ ‘क’ बाट नरेन्द्रबहादुर सिंह र जितबहादुर खड्का ‘ख’ बाट प्रदीपकुमार देउवा र भूमिराज बडूको नाम सिफारिस गरिएको छ । यस्तै नेपाली काँग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मङ्सिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरू पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको पार्टी सचिव हेमराज चटौतलले जानकारी दिए । गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ चटौतलले बताए । नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ ।