काठमाडौं - हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको र तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।
देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डडेल्धुरा आसपास केही स्थानमाा भारी वर्षा भएको छ। आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ ।
उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।