काठमाडौं - आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक बुधबार बस्दै छ ।
आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पु–याउनका लागि कार्यदलको बैठक बुधबार पनि बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपी, शिर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि बुधबार बैठक बस्न लागेको हो ।
गत साउन २० गते बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यादलमा ११ सदस्य छन्।कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।