डडेल्धुरा – स्वास्थ्य कार्यालय डडेल्धुराको एक तथ्याङ्क अनुसार डडेल्धुरामा श्वास प्रश्वासको समस्या भएका विरामीहरुको संङ्खया धेरै रहेको पाईएको छ । जलवायु परिवर्तन, अधिक मात्रामा डिजेल मट्टितेलको प्रयोग, कलकारखाना तथा औद्योगिक क्षेत्रहरुको विस्तार लगायतका कारणले ‘माथिल्लो श्वासन पथ संक्रिमित (Upper Respiratory Tract Infection (URTI) Cases) विरामीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराका स्वास्थ्य संस्थाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/७६ मा १५ हजार १ सय ९७ जना श्वास प्रश्वास सम्बन्धि रोगबाट पिडित छन ।
त्यस्तै ग्याष्ट्रिकबाट १२ हजार ९ सय ७५, ज्वरोबाट ११ हजार २ सय ४५, टाउकाको समस्या भएका ९ हजार ७ सय ४७, तल्लो श्वसन पथ संक्रमित भएका ८ हजार ३ सय ५४, चोटपटक र फ्र्याक्चर भएका ६ हजार २ सय ६७, झाडा पखालाबाट संक्रमित अनुमानित ४ हजार ४ सय १६, पेट सम्बन्धि समस्या भएका ४ हजार २ सय ९५,दमका ४ हजार २ सय १७ जना तथा पिठ्यु दुख्ने ३ हजार ९ सय ३८ जनाले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन ।
‘श्वास प्रश्वास’ सम्बन्धि रोगबाट कसरी जोगिने
श्वासप्रस्वाससँग सम्बन्धितरोगहरुबाट बच्न धुवाँ, धुलो लगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नु पर्दछ ।
यसका साथै चिसोबाट जोगिनु पर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नु पर्दछ । सकेसम्म चिसोबाट बच्नु पर्दछ ।
फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु नहुने स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले बताए । एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्र्ने उनको भनाई छ ।
‘मलेरीया’ नमूना जाँचमा पनि वृद्धि
जिल्लामा मलेरीया रोगको नमूना जाँच गरिएको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक बर्ष ७३/७४ मो जिल्लामा १ हजार ९ सय ५० आशंका गरीएका बिरामीलाई चेकजाँच गरिएको थियो जसमध्य २० जनामा उक्त रोग देखिएको थियो । आर्थिक बर्ष ७४/७५ मा जम्मा १ हजार ९ सय ६२ जना बिरामीको जाँच गरिए थियो ।
सोेमध्ये पनि २० जनामा मलेरीया देखा परेको थियो । यस्तै आर्थिक बर्ष ७५÷७६ मा २ हजार ४ सय २२ जना बिरामीको जाँच गरिए थियो भने ११ जनामा मलेरीया देखा परेको थियो ।
मलेरीयाबाट कसरी जोगिने
पोथी जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने मलेरीया रोगलाई नियन्त्रण गर्न लामखुट्टेको टोकाईबाट बच्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले जानकारी दिए ।
सुत्दा सधै झुलको प्रयोग गर्ने, घर आँगनमा फोहोर हुन नदिने, सचेतना जगाउने, वाताबरणिय सरसफाईमा ध्यान दिने र हात खुट्टामा क्रिमहरु लगाएर बस्ने गर्दा लामखुट्टेले टोक्न नपाउने र रोगबाट बचिने उनले बताए ।
संस्थागत सुत्केरी हुनेमा वृद्धि
डडेल्धुरामा संस्थागत सुत्केरीहुने महिलाको संख्यामा भने वृद्धि भएको छ । मंगलबारबाट डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको डडेल्धुरा स्वास्थ्य कार्यालयको बार्षिक समिक्षामा सो जानकारी गराईएको हो । स्वास्थ कार्यालयको तथ्याङ्क अनुसार २०७५/७६ मा ८० प्रतिशत महिलाहरुले संस्थागत सुत्केरी गराएकाछन । जुन संंख्या आर्थिक बर्ष ७३/७४ मा ६९ प्रतिशत थियो भने आर्थिक बर्ष ७४/७५ मा बढेर ७७ प्रतिशत पुगेको थियो ।
स्वास्थ्य कार्यालयका विभिन्न कार्याक्रमहरु प्रभावकारी रुपमा संञ्चालन भए पश्चात संस्थागत सुत्केरीहने महिलाको दर वृद्धि हुदै गएको हो । शिक्षा, स्वास्थ्य, जनचेतना लगाएतको सहजै पहुँच हुन थालेपछि नवजात शिशु मृत्युदर पनि घटेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आर्थिक बर्ष ०७५/७६ मा स्वास्थ्य कार्यलय डडेल्धुरा द्धारा संचालित कार्यक्रमहरु
विद्यालयमा आँखा शिविर, प्रजनन स्वास्थ्य शिविर, आधारभूत खोप तालिम, शहरी स्वास्थ्य केन्द्र भवन निर्माण, सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, प्रसुति केन्द्र भवन निर्माण कार्यक्रम संचालन गरिएको थियो ।
यस्तै किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाहरुका लागि सहयोग, नमूना स्वास्थ्य चौकी बिस्तार, भौतिक पूर्वाधार स्तरोन्नतीका लागि स्वास्थ्य संस्थाहरुलाई सहयोग, एकिकृत भेक्टर सर्भिलेन्स लगायतका कार्यक्रम संचालन भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।