काठमाडौं– नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि बढाउनुको ६ कारण पेश गरेको छ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको पत्रकार अन्तरसम्वाद कार्यक्रममा विभागका उपप्रमुख विष्णु रिजालले ती ६ कारणहरु सार्वजनिक गरेका हुन्।
पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको थियो।
दुई पटक प्रधानमन्त्री भइसकेका ओलीले गरेका कामलाई आधार उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीको रुपमा अघि बढाइएको रिजालले बताएका छन्।
ओलीनै प्रधानमन्त्री बन्नु पर्नेमा उनको अडान, सपना र व्यक्तित्वका कारण रहेको रजिालले बताएका छन्।
के छन् त छ कारण?
पहिलो : आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपूरा भएकाले बाँकी रहेको विकास र समृद्धिका अधुरो सपना केपी ओलीको नेतृत्वमा पुरा गर्न ।
दोस्रो : राष्ट्रिय स्वभिमानको प्रवद्र्धकको रुपमा केपी ओलीको नेतृत्व आवश्यकता रहेकाले ।
तेस्रो : वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुको रुपमा रहेका ओलीले काम गरेकोले, त्यो उचाईको नेताको अवश्यता देखिएकोले ।
चौंथो : अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तिव अहिलेसम्म नेपालले प्राप्त गरेको छैन। समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन। यो नै ओली प्रधानमन्त्री हुनु पर्ने बलियो कारण ।
पाचौं : केपी ओली इतिहासको व्यख्यता मात्र हैन नेपालको कम्युनिष्ट आन्दोलनको निर्माता पनि हो। कम्युनिष्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धिको यात्रामा लाने सूत्रधार रहेकाले ।
छैठौं : संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेताहरूमध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले ।