डडेल्धुरा - प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले भदौ १० गतेदेखि सुरु गरेको ‘जनताको साथमा काँग्रेस’ अभियानका लागि प्रदेशसभा, पालिका र वडामा पनि प्रतिनिधि खटाइएको छ। डडेल्धुराका २ प्रदेश निर्वाचन क्षेत्र, ७ पालिका र ५२ वटै वडामा प्रतिनिधि खटाइएको नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ।
डडेल्धुराको प्रदेश (क) मा काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र प्रदेश (ख) मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री तथा महासमिति सदस्य गोविन्दराज बोहरालाई खटाइएको छ।
नवदुर्गा गाउँपालिकामा पार्टीका उपसभापति तथा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, अजयमेरु गाउँपालिकामा उपसभापति तथा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, परशुराम नगरपालिकामा पार्टीका सचिव तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत र भागेश्वर गाउँपालिकामा पार्टीका सचिव शेरबहादुर भण्डारीलाई खटाइएको छ।
यस्तै अमरगढी नगरपालिकामा सहसचिव प्रेमबहादुर महर, गन्यापधुरा गाउँपालिकामा सहसचिव गोविन्दराज बोहरा, आलिताल गाउँपालिकामा पार्टीका प्रवक्ता अर्जुनसिंह साउदलाई खटाइएको काँग्रेस डडेल्धुराले जनाएको छ। पालिका र वडामा समन्वयकारी भूमीका निर्वाह गर्न, निर्वाचन केन्द्रीय परिचालन समिति र जिल्ला परिचालन समितिले अवलम्बन गरेको रणनीति कार्यान्वयनका लागि वडामा प्रतिनिधि खटाइएको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले बताए।
काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानका लागि डडेल्धुरामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इश्वरी न्यौपानेलाई खटाएको छ। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै टोल–टोलसम्म पुग्ने गरी ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गरिएको हो।
उसले देशभर विभिन्न तीन चरणमा जनताको साथमा काँग्रेस अभियान सञ्चालन हुने छ। पहिलो चरणमा जनताको घरदैलोमा पुग्ने अभियान सुरु भइसकेको छ। दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोसम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा काँग्रेसको भूमिका र आगामी पाँच वर्षका लागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन्।अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ।
भदौ १० देखि २४ गतेसम्मका लागि काँग्रेसले यो अभियान चलाएको हो ।