धनगढी - नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ ।
सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो।
अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।
अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ।
अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् ।
यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ।
अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ।
यता कैलालीमा खटाइएका प्रतिनिधी कांग्रेस केन्द्रिय सदस्य एन पी साउँदको उपस्थितीमा क्षेत्र नम्बर १ बाट अभियान शुरु गरिएको छ ।
टिकापुरको कार्यक्रममा कांग्रेसका जिल्लाभर का नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।