बैतडी- बैतडीमा आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ ।
निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो ।
डिलाशैनीको वडा नं २ र ३, दोगडाकेदारका वडा नं ४, ५, ७ र दशरथचन्दका ४ र ६ नम्बर वडाका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ ।
मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितिका विषयमा जानकारी लिनका लागि अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा हालै पुनरवलोकन गरिएका मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको हो । पुनरावलोकन गरिएका निर्वाचन मतदानस्थल तथा केन्द्र चुस्त रहेको पाइएको जनाएको छ ।
जिल्लाका अन्य मतदानस्थल र मतदानकेन्द्रको पनि अनुगमन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । बैतडीमा एक सय २९ ओटा मतदानस्थल र दुई सय पाँच मतदान केन्द्र रहेका छन् । त्यहाँ एक लाख ५१ हजार मतदाता रहेका छन् ।