काठमान्डौं- कृषि विकास बैंकको चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका पूर्वसहायक रथी (एकतारे जर्नेल) र टेलर सहायक दोषी ठहर भएका छन् ।
पूर्वजर्नेल रमेशराज विष्टसहित र बैंकको टेलर सहायक दिपिका रेग्मी दोषी ठहर भएका हुन् । विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको मंगलबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानी गरी ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता भएको थियो ।
राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको दाबी गरिएको थियो । यो प्रकरणमा बाँकी ६ जनालाई सफाई दिँदै विशेष अदालतले भने पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मीलाई मात्रै दोषी ठहर गरेको हो ।
उनीहरु दुई जना दोषी ठहर भएपनि सजाय भने निर्धारण भइसकेको छैन।