काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरुको भेट भएको एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।
त्यस्तै,एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए ।
भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको विष्टले जानकारी दिए ।