कञ्चनपुर- कञ्चनपुरको कलुवापरु बजारमा चोरी बढेपछि व्यपारी तनाबमा भएका छन् । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी निकै चिन्तित भएका हुन् । व्यवसायीले चोरीका घटना न्यूनीकरण गरी धनमालको सुरक्षा गरिनुपर्ने माग गरेका छन् ।
चाडपर्व नजिकिदै गर्दा चोरीका घटना बढन थालेका छन् । चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी सुरक्षाका लागि वडा कार्यालय र प्रहरीमा गुहार माग्दै पुग्न थालेका छन् ।‘ प्रहरीको बिट रहेकै स्थान नजिकका पसलमा चोरी हुन्छ’, व्यवसायी भने ‘पसलमा राखिएका सामानको सुरक्षा छैन । निर्धक्कसँग व्यवसाय गर्न सक्ने अवस्था छैन । मालसमान जोगाउन धौ धौ हुन थालेको छ ।’
गत साता मात्रै चोरहरूले स्थानीय व्यवसायी भीमबहादुर ऐरको पसल तोडेर नगद रकम सहित सामान चोरी गरेर लगेका थिए । बजार क्षेत्र नजिकैका स्थानीय किसानका गोठमा पालिएका खसी बाख्रा रातमा चोरी भएका थिए । ‘चोरीका घटना हुन थालेपछि निकै असुरक्षा महसुस गरिरहेका छौं’, स्थानीय व्यापारी लक्ष्मी नाथले भने, ‘बजार क्षेत्रमा लगाएको सौर्यबत्ती र सेन्सरयुक्त बत्ती समेत बिग्रँदा समस्या भएको छ ।’
बजारक्षेत्रमा जडान भएका बत्ती मर्मतका लागि वडाध्यक्षलाई जानकारी गराइएको उनले बताए । बजारको सार्वजनिक क्षेत्रमा जडान गरिएका ६० बत्तीमध्ये अधिकांश बिग्रिएको अवस्थामा छन् । वडाध्यक्ष शेरबहादुर साउदले बजार क्षेत्रको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन स्थानीय व्यवसायी, प्रहरी र सामाजका अगुवाहरूसँग छलफल गरी आवश्यक रणनीति बनाइने बताए । ‘
व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय गर्न पाउने वातावरण कायम गर्नका लागि सुरक्षालाई कसरी बलियो बनाउन सकिन्छ, त्यसबारे छलफल अगाडि बढाउँछौं’, उनले भने, ‘बजार क्षेत्रमा बिग्रिएका सौर्यबत्ती र सेन्सरयुक्त बत्ती मर्मत आगामी महिनाभित्रै पूरा गर्छौ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बजार क्षेत्रमा चोरीका घटना न्यूनीकरणका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिएको बताएका छन् । ‘
सादा पोशाकका प्रहरी समेत खटाएका छौं’, उनले भने, ‘आपराधिक पृष्ठभूमि भएका व्यक्तिमाथि निगरानी राख्ने र नियन्त्रणमा लिएर सोधपुछ समेत गरिरहेका छौं ।