धनगढी - हरेक बर्ष भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने सुदूरपश्चिमेलीको महान पर्व गौरापर्वको रौनक शुरु हुन थालेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने गौरा पर्वलाई पहाडबाट तराई झरेकाहरु उत्सवका रुपमा मनाउने गरेका छन् । यस बर्ष पनि डेउडा प्रतिस्ठानले धनगढीमा पहाडी जिल्लाका गौरा प्रदर्शन सहित गौरा महोत्सव मनाउने भएको छ ।
भदौ महिना शुरु भएसंगै गौराको रौनक भने शुरु भइसकेको छ । रोजगारीका लागी भारत गएकाहरु गौरा पर्वकै लागी घर फर्किने क्रम पनि बढेको छ ।
सुदूरपश्चिमेलीहरुको प्रमुख चाडका रुपमा रहेको गौराको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । पहाडबाट तराई झरेपनि आफ्नो संस्कृती जगेर्ना गर्ने उद्देश्यले धनगढीमा गौरालाई महोत्सवकै रुपमा मनाउने गरिएको छ ।
२०७१ सालबाट गौरा महोत्सव मनाउन थालेको डेउडा प्रतिस्ठानले यस बर्षपनि भदौ १७ गते देखी १९ गते सम्म गौरा महोत्सव मनाउन लागेको छ । महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता गर्ने, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी, गौरा प्रदर्शन गर्ने, लोक बाजाहरुको प्रदर्शन गरिने, प्रदेशका ९ वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा लोक गायन प्रस्तुति रहने, बाल प्रतिभा प्रवद्र्धन, लोक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले कार्यक्रमका सांस्कृतीक संयोजक सुरत रावतले जानकारी दिए ।
महोत्सवमा हुने डेउडा प्रतियोगितामा पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रथमलाई २५ हजार १ सय ११, दोस्रोलाई १७ हजार १ सय ११, तेस्रोलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार १ सय ११ रुपैयाँको पुरस्कार राशि रहेको डेउडा प्रतिष्ठानले बताएको छ ।
महोत्सव धनगढी उपमहानगरपालिकाको मैदानमा हुने आयोजकले जनाएको छ ।