कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रमण दर बढ्दै गएको छ । १ महिनाको तथ्याङक हेर्ने हो भने पनि सुदूरपश्चिममा साउन महिनामा १ हजार १९३ नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय दिपायलले बताएको छ ।
त्यस अवधिमा संक्रमणकै कारण एकजको ज्यान गएको छ । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको हो । निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा संक्रमण बढेको हो ।
भारतमा मजदुरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले जनाएको छ । कोरोना संक्रमणको चौथो लहरको जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ ।
जोखिम बढेकाले कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । नयाँ व्यवस्थापनको काम नभए पनि सीमा नाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत चेकजाँचमा कडाइ गरिएको छ ।’ सीमानाका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाटमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
पहिला स्थापना गरिएका होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेशन, कोरोना अस्पताल, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने काम भइरहेको निर्देशनालयले बताएको छ ।
भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । ५ वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइरहेको जनाइएको छ । सुदूरपश्चिममा हालसम्म ५ लाख ७२ हजार ७८७ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणकै कारण सुदूरपश्चिम प्रदेशमा ६३४ जनाको मृत्यु भएको निर्देशनालय दिपायलले बताएको छ।