अत्तरिया – आगामी मंसिर १४ गते हुने उपनिवाचिनमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लाका सात वडामा पनि उपनिर्वाचन हुने भएको छ । स्थानीय तहको निर्वाचन भएको दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ६ वटा वडा अध्यक्ष बिहीन भएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशको डोटीको आर्दश गाउँपालिका वडा नम्बर २, अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ५ र बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुने छ । त्यस्तै, बैतडीकै पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ र सुर्नया गाउँपालिकाको वडा नम्बर १, कञ्चनपुरको पुनर्बास नगरपालिकाको वडा नम्बर ३ र बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा पनि उपनिर्वाचन हुने जनाइएको छ । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ ।
त्यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहरा र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको मृत्यु भएकोले उपनिर्वाचन हुनेछ । त्यस्तै, कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वा्िचत भएकाले उपनिर्वाचन हुने जनाईएको छ ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । निर्वाचन अधिकृत भट्टका अनुसार असोज १० गतेसम्म मतदाता नामावलीमा दाबी विरोधको म्याद तोकिएको छ । असोज १० पछि अन्तिम मतदाता नामावली आउने र निर्वाचनका कार्यक्रम अघि बढ्ने छन् । उनले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउने बताए । यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलबीच अगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने सहमति भएको थियो ।
सो सहमतिअनुसार देशभर रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेस“गै मतदाता नामवालीमा नाम दर्ता गराउने काम गत साउन १६ गतेदेखि रोकिएको छ । साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हुने भएपछि बैतडी लगायतका पाँच वटै जिल्लामा निर्वाचनका लागि राजनीतिक चहलपहल सुरु भएको छ । उपनिर्वाचन अगावै बैतडीमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताहरू केन्द्रीत हुन थालेपछि चहलपल बढेको छ ।
उपनिर्वाचनका लागि २०७६ साल साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएर १८ वर्ष उमेर पूरा भएकाले भोट हाल्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । २०७६ साउन १६ गतेसम्म बैतडीका करिब सात हजार नयाँ मतदाता थपिएको पनि फुयाँलले जानकारी दिए । गत निर्वाचनमा बैतडी जिल्लाभरी एक लाख ३२ हजार तीन सय १९ मतदाता रहेका थिए ।
उपनिर्वाचन हुने पालिकामा थपिएका नयाँ मतदाता सहित दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा एकहजार पाँच सय १४ जना मतदाता रहेका छन् । त्यस्तै, पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा एक हजार नौ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ ।