काठमाडौं - गएको वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिने भएको छ।
काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा काँग्रेसतर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन्।
कार्यक्रमको उद्घाटनपछि वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ ।
स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँरनगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।
महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । कांग्रेसले गएको स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो।