बैतडी - जिल्लाको पाटन नगरपालिका ९ मा रहेको श्री सिद्धेशवर मावि तीन तारे विद्यालय घोषणा भएको छ । शनिबार एक कार्यक्रमकाबीच विद्यालयलाई तीन तारे घोषणा गरीएको हो । युनिसेफ नेपाल र रुडेस बैतडीको आर्थिक तथा प्राविधिक सहयोग र पाटन नगरपालिकाको समुन्वयमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्दन कार्यक्रम अन्तरगत सिद्धेश्वर माबि हुक्केडाडा तिन तारे विद्यालय घोषणा गरिएको हो ।
खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, स्थनपान व्यवस्था र दिगोपना विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिता लगायतका १० वटा सुचकको आधारमा वर्गीकरण गरी स्टार (तारे)विद्यालय घोषणा गर्ने गरिएको रुडेस बैतडीले जनाएको छ । बालमैत्री धारा, विद्यालयको सरसफाई, खानेपानीको सुविधा लगायतका सुचकहरुबाट विद्यालयलाई एक तारे देखि तीन तारे सम्मको विद्यालय घोषणा गरिदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सांसद प्रेम प्रकाश भट्ट आदित्य रहेका थिए । विशिष्ट अतिथिमा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहरा, रुडेस बैतडीका कार्यकारी निर्देशक गोवन्दराज जोशी, वडा नं ९ का वडाध्यक्ष कालु भाट, वडा नं ८ का वडाध्यक्ष हरीश बिष्ट, वडा नं १० का वडाध्यक्ष धन बहादुर कुवँर, लगायतका जनप्रतिनिधि, विद्यार्थी, अभिभावक लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।