काठमाण्डौ - दशैंका लागि काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आजदेखि खुला गरिएको छ । चाडपर्वको समयमा यात्रुको चापलाई ध्यानमा राखेर आजदेखि टिकट बुकिङ खुला गरिएको हो ।
आज बिहान १० बजेपछि टिकट बुकिङ खुल्ला भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सकिने उनले बताए ।
दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने विभागको अनुमान छ । यतिबेला काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने भएकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । त्यस्तै यस वर्षको दशैँ, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ ।
सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् । टिकट काट्न झन्झट नहोस् भनेर विभागबाट अनुगमन टोली र सादा पोशाकमा प्रहरी खटाइने महानिर्देशक हमालले बताए । यस्तै, केही दिनमा काठमाण्डौका १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने पनि तयारी भइरहेको उनले जानकारी दिए ।