बैतडी- बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् ।
जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका दर्जनौँ व्यापारीले खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् । यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्याधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति प्रज्जवलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री गरेको पाएको छ ।
अवैध कारोबारीले डिजेल र पेट्रोल अत्याधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मुल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएकाछन् । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएकाछन् । बैतडीको सतबाँजमा रहेको एकमात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ । उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।
जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु बिष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक–पटक जिल्लादेखि केन्द्र सम्म धाएका बिष्टले अनुमती नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ ।