अत्तरीया- बैतडीका ६ वटा स्थानीय तहका पदाधिकारीले एक वर्षमा ३ करोड रुपैयाँ बराबरको खाना खाएका छन् । नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप ३ करोड रुपैयाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ अनुसार बैतडीको सुर्नया गाउँपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष २०७८÷७९ को एक वर्षको अवधिमा ६७ लाख २० हजार रुपैयाँ खानामै खर्च गरेका छन् । तेस्तै वडा अध्यक्षले नियममै नभएको वडाको योजना अनुगमन गर्ने भन्दै लिएको १५ लाख ८५ हजार रकम असुल गर्नुपर्ने टिप्पणीसमेत महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
गाउँ सभा तथा नगर सभाका पदाधिकारीले प्रदेश कानुनअनुसार बैठक भत्ता, यातायात, टेलिफोन, अतिथि सत्कार, समन्वय सहजीकरण, खानेपानी, बिजुली, सरसफाइ, चाडपर्व खर्च आदि शीर्षकमा सेवा सुविधा पाउँदै आएका छन् । नियमअनुसार जनप्रतिनिधिले पाउने सुविधा बुझेर पनि खाना खर्चबापत बैतडीका ६ वटा स्थानीय तहका जनप्रतिनिधिले थप दुई करोड ८४ लाख ४५ हजार रुपैयाँ खर्च गरेका हुन् ।
खाना खर्चमा सुर्नया गाउँपालिका जनप्रतिनिधिले ६७ लाख २० हजार, सिगाँस गाउँपालिकाले २३ लाख २८ हजार, पाटन नगरपालिकाले १३ लाख नौ हजार, पुरचौडी नगरपालिकाले २० लाख, मेलौली नगरपालिकाले आठ लाख ७९ हजार, डिलासैनी गाउँपालिकाले तीन लाख रुपैयाँ खाना र खाजाका नाममा खर्च गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।