कञ्चनपुर - जिल्लाको कृष्णपुर नगरपालिका २ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।
“जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउँदले भने , “नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ ।” नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए ।
“वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ । जोखिम निम्त्याउन सक्छ । बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु”, उनले भने । नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उनको भनाइ रहेको छ । महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो ।
यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ ।
यसैबीच, बेदकोट नगरपालिका ४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरूले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन् ।
साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियो । तीव्र रूपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानीय राजुराम भुलले बताए । “तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौँ”, उनले भने, “त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं ।” रासस