धनगढी - अत्तरिया जेसिजको आतिथ्यतामा शुक्रबार देखी धनगढीमा देशकै ठुलो नेपाल जेसिजको क्षेत्र ‘घ’ सम्मेलन शुरु भएको छ । धनगढी स्थित ओम प्यालेसमा आयोजना गरिएको क्षेत्र ‘घ’ सम्मेलनको एक भब्य समारोहका बिच संघिय सांसद एबम पूर्वमन्त्री लेखराज भट्टले उदघाटन गरे ।
प्रमुख अतिथी भट्ट बिशिष्ट अतिथी गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउँद, अप प्रमुख रत्ना कडायत ,धनगढी नगरपालिकाका प्रमुख निर्प ओड, उपप्रमुख शुशिला भट्ट, गोदावरी नगरपालिकाका सबै वडाका अध्यक्षहरुले आयोजकले जेसिज शैलीमा भब्य स्वागत गरेका थिए । सम्मेलनको लागी ओम प्यालेस झक्कीझकाउ गरेर सजाइएको छ ।
नेपाल जेसिजको आयोजना र अत्तरिया जेसिजको आतिथ्यतामा २ दिन सम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट प्रतिनिधी धनगढी पुगेका छन् । नेपाल जेसिज अन्र्तगतका क्षेत्र ‘घ’ भित्र पर्ने नारायणी वारीका ४८ शाखाका करिब ५ सय जनाको सहभागिता रहेको अत्तरिया जेसिजका अध्यक्ष गणेश शाहले बताए । यस अघि दाङ्गमा सम्पन्न भएको क्षेत्र क्षेत्र ‘घ’ सम्मेलन सुदुरपश्चिममा पहिलो पटक हुन लागेको हो ।
२०११ मा स्थापना भएको अत्तरिया जेसिजले आतिथ्यता ग्रहण गर्ने बताएपछि अत्तरिया जेसिजको आतिथ्यतामा सम्मेलन हुन लागेको अध्यक्ष शाहले जानकारी दिए । उक्त सम्मेलनमा वक्ताका रुपमा डा. चन्द्र भण्डारी , डा. सुरेन्द्र के.सी र मुमाराम खनालले अनुभबहरु आदान प्रदान गरेका छन् ।उक्त सम्मेलनलाई सम्पन्न गर्नका लागि अत्तरिया जेसिजका संस्थापक अध्यक्ष गिरिराज कडायतको अध्यक्षतामा क्षेत्र ‘घ’ सम्मेलन मुल समारोह समिति समेत गठन गरिएको छ ।
सम्मेलनमा सुदुरपश्चिमका बिबिध कला संस्कृतिको प्रस्तुती, व्यवसायिक ज्ञान सीपको आदान प्रदान, युवा सम्मेलन, युवा उत्प्रेरणा तथा आफ्नो समाजमा नेतृत्व विकास सम्बन्धि तालिम , ब्यवसायिक सीप तालिम, भातृत्व विकास लगायतका कार्यक्रमहरु हुने महासचिब प्रमोद अधिकारीले बताए ।उनले सुदुरपश्चिम प्रदेशको व्यवसायिक तथा पर्यटकीय स्थानको प्रबर्द्धनमा टेवा पुग्ने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको बताए ।