अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा राजधानी राख्न गरेको निर्णय कार्यान्वयनका लागि दवाव दिन राजधानी निर्माण स्थलमा बोर्ड राखिएको छ । शुक्रबार ‘शिध्र राजधानी निर्माणका लागि युवा दवाव समुह’ ले राजधानी निर्माण स्थलमा राजधानी निर्माणको बोर्ड राखेको हो ।
अभियान अन्तरगत कैलालीको गोदावरी नगरपालिका २ र ४ को राजधानी निर्माण स्थलमा ‘राजधानी निर्माण स्थल प्रारम्भ’ लेखिएका दुई ओटा बोर्ड लगाईएको हो । बोर्ड राजधानी निर्माण स्थल तोकिएको क्षेत्र सुरु भएको बिन्दु र अर्को राजधानी निर्माण स्थल सम्पन्न हुने स्थानमा राखिएको छ ।

बोर्डमा ‘सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा यहाँहरुलाई हार्दिक स्वागत गर्दैर्छौ’ लेखिएको छ ।
अभियानका अगुवा आनन्द भट्टले राजधानी निर्माण स्थलमा प्रदेश सरकारले १ बर्ष बितिसक्दा पनि कुनै कार्य अगाडी नबढाएकाले दवाव दिन अभियान सुरु गरिएको बताए ।

यसअघि अभियान अन्तरगत भदौ ४ गते बोर्ड निर्माणका लागि रकम संकलन गर्न गोदावरीकै राजधानी स्थलमा दान पेटि राखिएको थियो । दान पेटिमा १ हजार ६ सय ७० रुपैयाँ संकलन भएको भट्टले बताए ।

अभियानको संयोजक छनोट
यसैबिच शुक्रबार अत्तरियाको दुर्गा मन्दिरमा बसेको शिध्र राजधानी निर्माणका लागि युवा दवाव समुहको बैठकले नर बहादुर राईको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा भोज साउँद , भुवनेश्वर भट्ट , रमेश बिक र शोभा थापा रावल रहेका छन ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरीमा सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरिएको झण्डै एक बर्ष पुग्न लागेको राजधानि निर्माणका लागि कुनै कार्य अगाडी बढ्न सकेको छैन । प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने प्रस्तावलाई गत बर्ष असोज १२ गतेको प्रदेश सभाको बैठकमा दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
राजधानी तोकिएको लामो समय सम्म त्यस ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन , भौतिक संरचना निर्माणका लागि डिपिआर बनाउने लगायतका कामहरु हुनुपर्ने भएपनि अहिले सम्म त्यस ठाँउमा कुनै पनि काम हुन सकेको छैन । राजधानी कार्यान्वयनका लागि गत आर्थिक वर्ष प्रदेश सरकारले छुट्टयाएको बजेट फ्रिज भएको छ ।
उता प्रदेश सरकारले भने राजधानी तोकिएको क्षेत्रको जग्गाको स्वामित्व संघबाट प्राप्त नहुँदा र प्रदेश सभाको निर्णय विरुद्ध अदालतमा मुद्दा पर्नुले राजधानी कार्यान्वयनमा ढिलाई भैरहेको बताउदै आएको छ ।