बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्यंकनका आधारमा देशभरमै उत्कृष्ट १० भित्र परेको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा बैतडी १० औँ नम्बरमा परेको हो। आर्थिक वर्ष ०७८ /०७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार बैतडी १० औँ नम्बरमा रहेको हो ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्योटलगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। दुई वर्षअघि बैतडी १२ औँ नम्बरमा पुगेको थियो।
मन्त्रालयले विकास गरेको सिआइएमएस प्रणालीमार्फत गरेको प्रतिवेदनलाई मुद्दाहरूको फर्छ्यौट, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फर्छ्यौट, नागरिकता सम्बन्धी उजुरी फर्छ्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी, राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्छ्यौटलाई आधार मानी मूल्यंकन गरिएको थियो ।