बैतडी - बैतडीमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेका छन् । जंगली बाँदर , बँदेल, र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । जंगली बाँदर , बँदेल, र दुम्सीले जंगली जनावरले बैतडीका बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले शखाप गर्न थालेका हुन् । दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली र अन्य खाद्य बाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका हरिश जोशीले जानकारी दिए ।
![Siddi ganesh sun pasal](https://www.godawarinews.com/uploads/bigyaapan/33893900.gif)
बैतडीका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरूलाई धौ धौ परेको छ । दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौ धौ परेको उनले बताए । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ । ’पाक्नै तयारीमा रहेको मकैलाई जंगली जनावरहरूले नष्ट गर्न थालेपछि समस्या भएको छ ।
मकैको घोगा लागेको बेला देखिनै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । बाँदर र बँदेलले लगातार रुपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई चिन्तित बनाएको दशरथचन्द नगरपालिका ५ का रमेश भट्टले बताए । रातिको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्किल भएको किसानको भनाइ छ ।
टहरा बनाएर रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्किल रहेको सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दा सुरेश महराले बताए । ’बादँर धपाउन सबै काम छोडेर आफूहरूले मकैको गोठालो लाग्नु परेको छ । बाँदरले मकै बाली संगै आँप, अनार, लगायतका फलफूल पनि नष्ट पार्ने गरेको पाटनकी स्थानीय भागरथी भट्टले बताइन् । वर्षे बालीका साथै फलफूल पनि जंगली जनावरले नष्ट गर्ने र जंगलमा मेलापात जान पनि जंगली जनावरको डर हुने गरेको छ । उनले भनिन्,’ बालीनाली र फलफूल त सखाप पार्दै गएका छन् घाँस,दाउराका लागि जङ्गल जान समेत जंगली जनावरको डर हुने गरेको छ ।’ वर्षे बाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन्।
साँझ बिहानको छाक टार्नको लागी लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरूको भनाई रहेको छ । विभिन्न रोग कीराबाट बचाएर पाक्न लागेको मकैबाली जंगली जनावरले नष्ट पारेको हो।जंगली जनावरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागी स्थानीय तहले पहल गरिदिनुपर्ने किसानहरूको माग रहेको छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भएपनि क्षतीपूर्ती पाउन नसकेको किसानहरूले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरूले बर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत सरकारले केही राहत नदिएको किसानहरूले गुनासो गरेका छन् ।
स्थानीय सरकारहरूले किसानहरूका समस्या समाधान गर्न नसकेको दोगडाकेदारका किसान इन्द्रदेवशरण भट्टले बताए। उनले भने,’मेहनत गरेर लगाएको बालीनाली र फलफूल जंगली जनावरको बथानले क्षणभरमै सखाप पार्ने गरेको छ, स्थानीय सरकारले यसबारे कुनै योजना बनाउन सकेको छैन्,।’