काबुल – इस्लामिक स्टेट (आइएस) लक्षित अमेरिकी ड्रोन हमलाका कारण अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन् ।
दुर्घटनावश भएको भनिएको बुधबार रातिको आक्रमणमा परी ४० जना घाइते भएको बताइएको छ । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तस्थित वाजिर टांगी हिमाली क्षेत्रमा सल्लाहको गट्टो संकलन गर्न खटिएका कृषक र कामदार अमेरिकी ड्रोन हमलामा परेका हुन् । ‘ड्रोन हमलामा पर्नुअघि कामदार टुकी बत्ति बालेर वरपर बसिरहेका थिए,’ एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अफगानिस्तानको रक्षा मन्त्रालय र काबुलस्थित अमेरिकाका एक वरिष्ठ अधिकारीले ड्रोन हमलाको पुष्टि गरे पनि सर्वसाधारण मारिएको विषयमा भने केही बोलेका छैनन् ।
अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन् ।
‘नान्गाहार प्रान्तमा रहेका आइएस आतंकवादी समूहका सदस्यलाई लक्षित गर्दै अमेरिकी फौजले ड्रोन हमला गरेको थियो,’ अफगानिस्तान स्थित अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लेग्गेटले बताए । ‘सर्वसाधारण मारिएको आरोपबारे हामी सचेत छौं र यस विषयको सत्यतथ्य पत्ता लगाउनका लागि त्यहाँका स्थानीय अधिकारीसँग हामीले मिलेर काम गरिरहेका छौं,’ प्रवक्ता लेग्गेटले बताए ।
युद्धग्रस्त अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् । उनीहरुले अफगान सेनालाई तालिम र सल्लाह प्रदान गरिरहेको छन् । यसका साथै अमेरिकी सेनाले आइएस र तालिबान विरुद्ध प्रतिआतंकवादी गतिविधि पनि सञ्चालन गरिरहेको छ । सल्लाको गट्टो फार्मका मालिक हैदर खानका अनुुसार गरिरहेका कृषक गट्टो टिप्ने कार्यका लागि एक सय ५० कामदार खटिरहेका थिए, जसमध्ये केही अझै हराइरहेका छन् । उनले मृतक र घाइतेको पुष्टि समेत गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
‘ड्रोन हमलाका बेला फार्मनजिकैको क्षेत्रमा गाडिएका पाँचवटा टेन्टमा करिब दुई सय कामदार सुतिरहेका थिए,’ आक्रमणका जीवित एक मजदुरले बताए । ‘हामीमध्ये केही भाग्न सफल भयौं । केही घाइते भए तर धेरै मारिए,’ उत्तरपूर्वी कुनार प्रान्तका स्थानीय तथा सो फार्ममा काम गर्न गएका एकजना कामदार जुमा गुलले बताए ।
सर्वसाधारण कामदारमाथि भएको ड्रोन हमलालाई लिएर आक्रोशित केही स्थानीयले अमेरिकी फौजले माफी माग्नुपर्ने र पीडितका परिवारलाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् । ‘यस्ता गल्ती प्रमाणित हुनै सक्दैन । सर्वसाधारण मानिस मारेर युद्ध जित्न सकिँदैन भन्ने कुरा अमेरिकी फौजले बुझ्न जरुरी छ,’ जलालाबाद सहरका एक स्थानीय जाभेद मन्सुरलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
अफगानिस्तानमा पहिलो पटक सन् २०१४ मा जिहादी आइएस लडाकु देखा परेका थिए । त्यस बेलादेखि नै उनीहरुले देशको उत्तरी र पूर्वी क्षेत्रलक्षित आतंकवादी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् ।
अफगानिस्तानमा के कतिको संख्यामा आइएस लडाकु छन् भन्नेबारे भने वास्तविक तथ्यांक छैन यद्यपि अमेरिकी सेनाका अनुसार अफगानिस्तानमा करिब दुई हजार आइएस लडाकु क्रियाशील छन् । सर्वसाधारण मानिस मारिएको यस विषयमा आइएसले भने कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ ।