अत्तरिया - आज असोज ३ गते अर्थात चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा सुदुरपश्चिम सहित देशभर बिबिध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले सबैमा आह्वान समेत गरेको छ ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ । ‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।
यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले हिजो, आज र भोली गरि ३ दिन सम्म घर–घरमा दिपावली गर्न आह्वान गरेको छ । प्रदेश सरकारले आज बिहान ७ बजेदेखी ट्राफिक चौराह बाट धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गर्ने जनाएको छ ।
कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ । यस्तै कैलालीको गोदावरी नगरपालिकाकले पनि दिवसको अबसर पारेर नगरपालिकाले आज बिहान अत्तरियाका बिभिन्न संघ सस्था , ब्यापारी , समाजसेवी , बिभिन्न बिधालयका बिधार्थीहरुको सहभागितामा अत्तरिया बजार वरपर परिक्रमा गर्ने भएको छ ।
बजार परिक्रमा पश्चात अत्तरिया स्थित पतञ्जलीको योगा हलमा बिबिध कार्यक्रम गर्ने र आज साँझ अत्तरिया चोकमा दिपावली गर्ने कार्यक्रम रहेको गोदावरी नगरपालिक नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।