टीकापुर - हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।
नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन् । तीन दिनदेखि मनसुन सक्रिय भएको छ । नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन् । टीकापुर ५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताए ।
टीकापुर नगरपालिका ५ स्थित टीकापुर पार्कको पूर्वी उत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ । कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर ५ बङ्गलापुरका चुनकानु थारुले बताए ।
“यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो । यस वर्ष पनि कटान भइरहेको छ । अहिलेसम्म १५ फिट कटान भइसकेको छ”, उनले भनिन् , “नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताइन् । “दैनिक वर्षा भइरहेको छ । नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ”, उनले भनिन्, “कति बेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ । नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ ।”
कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताए । “यहाँ पटक पटक कर्णाली नदीको बाढी पसेर क्षति पुगाएको छ”, उनले भने , “नदीमा पानीको बहाव बढ्न थालेपछि गाउँका बासिन्दा पटक पटक नदी किनारमा हेर्न जाने गरेर दिन बित्छ । नदीमा पानीको बहाव घटे मन शान्त हुन्छ । बाढी आउने डरले जहिले सताउँछ ।”
नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको जोखिम रहेका ठाउँमा बृहत् र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताए । “नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविष्य नै रहने देखिँदैन”, दर्लामीमगर भने , “नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरूप परिवर्तन आवश्यक छ । अब तार जाली, ढुङ्गा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन ।”
यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ । यहाँका नागरिकलाई बर्खामा नदी कति बेला बस्तीमा पस्ने हो भन्ने उनीहरूलाई पिर छ । कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर ५ को शाहीपुर क्षेत्र रहेको छ । यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ ।
कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ । टीकापुर २ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकापुर ७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताए । “समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । थप जोखिम छ ।”
रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरक फरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताए । “हामीले लामो समयदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ”, उनले भने , “आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ ।”
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरू पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताए। रासस