धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयनमा समस्या भईरहेको दुखेसो पोखेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलबार धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र स्थापित संस्थागत संयन्त्रहरुको क्रियाशिलता सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा उनले आफ्नो अनुभब सुनाएका हुन ।
उनले जनअपेक्षानुसार काम हुन नसकेका कारण सङ्घीयताप्रति जनता सन्तुष्ट हुन नसकेको बताए । हामीभन्दा पहिलेदेखि नै सङ्घीयता भएका भारतलगायतका देशसँग नेपाललाई दाँजेर असन्तुष्ट हुनुको कुनै अर्थ नभएको बताउँदै उनले सबै तहका सरकारले आ–आफ्नो दायित्व बहन गरेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले बजेट ल्याउने तरिका नमिलेको बताए । स्थानीय समस्यालाई सम्बोधन गर्नेगरी पहिले स्थानीय तहले नै बजेट प्रस्तुत गर्नुपर्ने, मझौला खालका योजना प्रदेश र ठूला योजनाहरु सङ्घीय सरकारमा सिफारिस गर्न पाए बजेटमा योजनाहरु नदोहरिने बताए।
यस्तै, पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेश सभासद लालबहादुर खड्काले तीन तहका सरकारबीच संविधानतः सम्बन्ध हुनुपर्नेमा सङ्घीय सरकार प्रमुखको राजनीतिक ईच्छाशक्तिले काम गरिरहेको जिकिर गरे ।
अर्का प्रदेश सभासद भरत खड्काले सुदूरपश्चिम सरकारको कार्यशैलीले जनतामा सङ्घीयताप्रति वितृष्णा बढेको दाबी गरे । संसारकै उत्कृष्ट व्यवस्था मानिएको सङ्घीयतामा छोटो समयमै जनता असन्तुष्ट हुनुमा राज्य सञ्चालकहरु नै बढी जिम्मेवार रहेको उनको भनाइ छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले सङ्घीय सरकारले स्थानीय तहलाई पूर्ण स्वायतता दिनुपर्ने र प्रदेश तह समन्वयात्मक मात्रै हुनुपर्ने धारणा राखेका थिए । संविधानविद् खिमलाल देवकोटा र पूर्वराष्ट्रसेवक विष्णुदत्त गौतमले साे कार्यक्रममा सहजिकरण गरेका थियो ।